दफा २४
निर्वाचनकोप्रचार प्रसारमा गर्न नहुनेअन्य कार्य
(१) कसैले पनि निर्वाचनको प्रचार प्रसार गर्ने उद्देश्यले आयोगले तोकेको आकार र रङ्गको सामान्य पर्चा वितरण गर्न बाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन हुँदैन ।
(२) निर्वाचन सम्बन्धी प्रचार प्रसारको लागि कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन हुँदैन ।
(३) निर्वाचन सम्बन्धी प्रचार प्रसारको लागि उपदफा (१) बमोजिम पर्चा तयार गर्दा मुद्रण गर्ने छापाखानाको तथा मुद्रण गर्न लगाउने राजनीतिक दल वा व्यक्तिको नाम र ठेगाना उल्लेख नगरी तयार गर्न हुँदैन ।
(४) निर्वाचनको प्रचार प्रसार गर्ने उद्देश्यलेगरिने सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाको लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न हुँदैन
(५) कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन ।
(६) उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचार प्रसार गर्न हुँदैन ।
(७) उपदफा (१), (२), (३), (४), (५) वा (६) विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(८) राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले उपदफा (१) वा (२) विपरीत पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले प्रयोग गरे वा गराएमा उपदफा (७) बमोजिमको अधिकारीले त्यस्तो पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जफत गर्नेछ र त्यस्तो पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले प्रयोग गरेको स्थानलाई दुरुस्त बनाई राख्न आदेश दिनेछ ।
(९) उपदफा (८) बमोजिमको आदेश पालना नगर्नेलाई उपदफा (७) बमोजिमको अधिकारीले थप पच्चीस हजार रुपैँयासम्म जरिबाना गरी त्यस्तो पर्चा, पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले प्रयोग गरेको स्थान दुरुस्त बनाउन लागेको खर्च असुल उपर गर्न सक्नेछ ।